बर्दीको इज्जत देऊ

 बर्दीको इज्जत

म पनि पटक–पटक

काउँका वा शहरका,

चिल्लाका वा केन्द्रका,

सेतो सर्ट वा कालो कोट,

निलो वा फुस्रो,

लोगो वा टोपीको इज्जत गर्नुस्,

‘महोदय’ भनी

बिन्ती बिसाइरहेकै छु।

तर, महोदय,

थोरै भए पनि

गम्भीर बिरामी नपरी,

काम चल्ने गरीको

रासन–पानी पाएपछि,

अनायासै जीविकोपार्जनका लागि

हातमा स्टेरिङ समाएका

ती हातहरू पनि सम्झिनुस्।

घर–परिवार

तल मधेशमा होस् वा

माथि लेकमा,

आफ्ना मान्छेहरू छोडेर

चार चक्कालाई

खस्रो बाटोमा घसार्दै,

हामी जस्ता यात्रुलाई

गन्तव्यसम्म पुर्‍याउने

गुरुज्यूहरू छन्।

सँगै बसेर

बाटो चिनाउने,

सामान सम्हाल्ने,

धुलो–धुवाँ र घाम–पानी सहने

सवारी सहयोगीहरू छन्।

उनीहरूको पनि

आफ्नै पसिना छ,

आफ्नै आत्म सम्मान छ,

आफ्नै घर छ,

आफ्नै भोक छ,

आफ्नै सपना छ।

त्यसैले, महोदय,

बर्दी लगाएका हुन् भन्दैमा

हुर्मत नलिनुस्,

लामा हात नबनाउनुस्।

टोपीको इज्जत जति हुन्छ,

स्टेरिङ समातेको हातको पनि हुन्छ।

लोगोको मान जति हुन्छ,

पसिनाले भिजेको कमिजको पनि हुन्छ।

राज्यको बर्दी

राज्यकै मर्यादा हो भने,

श्रमिकको पसिना पनि

यो देशकै इज्जत हो।

सवाल–जवाफको त्यो कुर्सीबाट

एउटा कुरा सम्झिनुस्, महोदय—

कानुनको अगाडि सबै बराबर छन् भने,

सम्मानको अगाडि पनि

मान्छे बराबर हुनुपर्छ।

हामीलाई गन्तव्यमा पुर्‍याउने

यी हातहरूलाई

अपमान होइन,

सम्मान चाहिएको छ।

किनकि—

सडकमा स्टेरिङ समाउने हात पनि

यो देशकै हात हो।

र त्यो हातमाथि उठेको

हरेक अनावश्यक हात

अन्ततः नागरिकको आत्म सम्मान माथि उठेको हात हो।

Comments

Popular posts from this blog

त्यो नियात्रा र यो यात्रा: पाथीभरा दर्शन फरक पर्दा

राष्ट्रिय खोप कार्यक्रम विगतका पाटा अनि भविश्यका बाटाहरु