त्यो नियात्रा र यो यात्रा: पाथीभरा दर्शन फरक पर्दा





 

त्यो नियात्रा र यो यात्रा: पाथीभरा दर्शन फरक पर्दा

परिचय

ताप्लेजुङ्ग स्थित पाथीभरा धामको यात्रा नेपालीहरुको आस्था, साहस र संस्कृतिको प्रतीक हो; यसले पर्यटकहरुलाई पनि उत्तिकै आकर्षण गर्दै आएको छ। विगतका दशकहरूमा यो यात्रा केवल धार्मिक उद्देश्य नभई कठिन साहसिक यात्राको अनुभव समेत थियो।२०२०-२०३० सालतिर पाथीभरा पुग्नु आफैंमा एउटा कठिन तपस्या जस्तै मानिन्थ्यो; साँघुरो बाटो, घाम-पानी र पहिरोको जोखिम, तर पनि ती कठिनाइहरू नै वास्तविक श्रद्धाको परीक्षण थिए।आज त्यो यात्रा आधुनिक सुविधाहरुको उपभोग गर्दै सहज र केहि सरल बनेको छ।फरक अनुभूतीसँगै सांस्कृतिक र आध्यात्मिक अनुभूतीका साथै प्रकृतिक मनोरञ्जनका रुपमा आज भोली पाथिभरा दर्शनमा दर्शनार्थीहरु जाने गरेको पाईन्छ।यस आलेखमा पङक्तिकारले अघिल्लो पुस्तासँग गरेको अन्तरकृया, २०६३ सालमा पहिलो पटक र २०८२ मा दोश्रो पटक को यात्रामा लिएको अनुभव तथा भोगेको रूपान्तरणलाई संस्मरणात्मक ढङ्गमा चित्रण गरिएको छ।

. फुङ्गलिङ बजार सम्मको पहुँच:

मेची राजमार्ग स्थित कावेली नदीमा पक्की पुल वन्नु अघि काठमाडौँबाट ताप्लेजुङ पुग्ने प्रमुख बाटो हवाई मार्ग मात्रै थियो।सुकेटारसम्मको उडान पनि कहिलेकाहीँ मात्र उपलब्ध हुने र मौसम खराब हुँदा यात्रुहरू दिनौँसम्म पर्खिनुपर्ने अवस्था हुन्थ्यो।त्यो समय काठमाडौँबाट ताप्लेजुङ पुग्नु पर्वतारोहण जस्तै कठिन उपमाले चिनिन्थ्यो। पहिलेको मेची राजमार्ग साँघुरो हुनुका साथै, धुलोमैलो र वर्षायाममा हिलोमय हुन्थ्यो। १२-१५ घण्टाको यात्रामा त बल्ल पाँचथर मुकाम फिदिम सम्म पुगिन्थ्यो।वैकल्पिक रुपमा धनकुटा वसन्तपुर सम्म वसको यात्रा पश्चात गुफाडाँडा हुँदै पैदल यात्रा पनि त्यति सहज थिएन।पहाडी तथा ग्रामीण क्षेत्रको यात्रा; यात्रुका लागि परीक्षा जस्तै हुन्छ। बसका ढोकाबाट भित्र पस्दा झ्यालबाट निस्कनेसम्म हिलो, धुलो र थकानले वसको यत्रा जीवन खतरा नै हुन्थ्यो; तथापि यात्रा पूरा गर्नु बाध्यता नै रहन्छ।

आज भने समय र यात्राले रूप फेरिसकेका छन्। नियमित हवाई उडानको सुविधा र मेची राजमार्ग हुँदै झापा, इलाम र फुङलिङ जोड्ने पक्की सडकले यात्रालाई सहज र रमाइलो बनाइदिएको छ। अब यात्रुले बस वा जीपमा सहज यात्रासँगै पहाडका रमणीय दृश्यहरू अवलोकन गर्दै ताप्लेजुङ पुग्न सक्छन्। यात्रा केवल गन्तव्यमा पुग्ने साधन होइन, अनुभवको सौन्दर्य पनि बनेको छ।चारआलीदेखि फुङलिङसम्मको अधिकांश भाग कालोपत्रे भइसकेको छ। आधुनिक बस सेवा, जीप र निजी सवारीले ८ देखि १० घण्टामै यात्रा सम्पन्न गर्न सक्छन्। रस्ताका मोडहरू अझै घुमाउरा छन्, तर ती मोडहरूमा अहिले संगीत बज्छ, स्थानीय बजारको रौनक छ, र यात्रुहरूको अनुहारमा सहज मुस्कान देखिन्छ।

२. फेदीसम्मको यात्रा:

पहिले फुङलिङदेखि फेदीसम्मको बाटो कच्ची र चिप्लो थियो। सवारी साधन त के, पैदल यात्रुले पनि ठूलो सावधानी अपनाउनुपर्थ्यो। बोरा, भेडा र सामान बोकेका भक्तजनहरू बाटोमा भेटिन्थे, बाटामा कट्नुपर्ने हाङ्देवाको पहिरोलाई त्यसवेला एशिया महादेशकै ठुलो पहिरोको रुपमा चिनिन्थ्यो।  कठिनाईमा पनि मुस्कुराउँने सुन्दर यात्रुहरुको अनुहारमा आस्था र यात्राको मिश्रित चमक प्रष्टै देखिन्थ्यो।

अहिले सुकेटार विमानस्थल हुँदै काफ्लेपाटी र तल्लो फेदीसम्म सवारीसाधन पुग्ने सुविधा छ।माथिल्लो फेदी कान्छीथान पुग्दा स्थानीय गाउँका मुस्कान, ताजा हावा र देवी बोलाएको अनुभूति यात्रुको मनमा स्वाभाविक रूपमा जाग्छ। गाउँलेहरूका आतिथ्यता, हँसिलो मुहारले देवीको आशीर्वादको संकेत गर्नुका साथै स्वागतले यात्रालाई आत्मिक र सन्तुष्ट बनाउँछ।

३. वसोवास र सुविधा

तीन दशकअगाडि फेदीमा एक-दुई वटा पाटी-पौवा र टिनको छानावाला घरहरू मात्रै थिए। भक्तजनहरू न्यानो पानी र बिस्तारा बिना नै खुला आकाश मुनि रात कटाउँदा पनि आनन्दित महशुष गर्दथे। हिउँ परेको बिहान चिसो ढुंगामा हात ताप्दै देवीको नाम लिनु नै एउटा भक्ति र प्राकृतिक शक्ति थियो।

आज त्यो दृश्य बदलिएको छ। काफ्लेपाटी र फेदीमा लज, होटल र रेष्टुरेन्टहरू फस्टाएका छन्। तातो पानी, आधुनिक बाथरूम, स्थानीय परिकारका साथमा पाहुनालाई देवीको आशीर्वाद जस्तै नम्र शव्द तथा अभिवादन सहित स्वागत गरिन्छ। ढिँडो, गुँद्रुक, तामाको झोल र अलैचीको चिया यात्राको स्वाद बनेका छन्।लाग्छ तल्लो फेदी वजार प्रवेश विन्दु झै नगरोन्मुख क्षेत्र र माथिल्लो फेदी सघन शहरी क्षेत्र नै हो। तथापि उच्च हिमाली वनस्पतिले घेरिएको पहाडको ठण्डा हावा सँग लुकामारी गर्दै स्थानीय परिकारको स्वादले यात्रुलाई चिसोका वावजुद पनि न्यानोपन र टाढै रहेर पनि घरको याद दिलाउँछ।

४. मन्दिरसम्मको पैदल यात्रा

अघिल्लो पुस्ताका यात्रुहरू भन्छन्, “पहिले पाथीभरा पुग्न हिउँ, हिलो र हावासँग लड्नुपर्थ्यो। त्यो कठिन यात्रा श्रद्धाको परीक्षा थियो। तर अहिले ती बाटाहरू सिँढी र पक्की मार्गले सजिएका छन्। बीच-बीचमा चिया पसल, विश्राम स्थल र साना रेष्टुरेन्टहरूले यात्रालाई रमाइलो बनाएका छन्।

जुन बेला भक्तजनहरूले जय पाथीभरा माई भन्दै माथिल्लो फेदी पार गर्छन्, त्यो क्षणमा भौतिक सुधार र आध्यात्मिक श्रद्धा दुबैको संगम महसुस हुन्छ।कुनै वृद्ध तीर्थयात्री हातमा ढुंगाको टेको लिँदै अघि बढ्छन् भने, युवापुस्ता क्यामेरामा ती क्षणहरू कैद गर्दै देवीप्रति आभार प्रकट गर्छन्।

६. संचार सुविधा (Communication Access)

२०२३ देखि २०६३ सम्मको यात्रामा संचारको सुविधा विरलै पाइन्थ्यो। घरबाट निस्किएपछि फर्किँदासम्म समाचार नपाउने अवस्था हुन्थ्यो। यात्रामा हिँड्दा अब देवीको शरणमा गएका परिवारजन कहिले फर्कन्छन्?” भन्ने चिन्ता घरमा रहि रहन्थ्यो।

तर अहिले मोबाइल नेटवर्क र इन्टरनेटले पाथीभरा यात्रालाई विश्वसँग जोडिदिएको छ।यात्रुहरूले देवीको मन्दिरमा प्रार्थना गर्दै आफ्ना परिवारसँग भिडियो कल गर्न सक्ने अवस्था आएको छ। देवीको दर्शनसँगै प्रविधिको आशिष पनि प्राप्त हुने गरेको छ। आस्था र प्रविधिको यो संयोजनले यात्राको अर्थ बदलिदिएको छ; अब भक्तिले भरिएको मन र प्रविधिले जोडिएको सम्बन्ध एकसाथ अगाडि बढेका छन्।

७. निष्कर्ष (Conclusion)

यसरी हेर्दा पाथीभरा यात्राले केवल भौतिक विकास होइन, मानव मनको यात्रासमेत चित्रण गरेको छ। कठिनाइबाट सहजता, मौनताबाट संचार, र स्थानीयताबाट विश्वव्यापकताको यो रूपान्तरण समयसँगै ‘यात्रा पनि बदलिन्छ, तर आस्था कहिल्यै बदलिँदैन; भन्ने सत्य स्थापित गर्छ।

आजको पाथीभरा यात्रा निकै नै आरामदायी छ, तर यसको आत्मा उही छ; देवीप्रतिको विश्वास, प्रकृतिप्रतिको प्रेम र जीवनप्रतिको आभार। आधुनिक बाटाहरूले पुरानो भक्ति मेटाएका छैनन्, बरु अझ उजागर बनाएका छन्।यसैले पाथीभरा यात्रा हरेक पुस्ताको आत्मिक पुनर्जागरणको प्रतीक रहि रहनेछ।

Comments

Popular posts from this blog

राष्ट्रिय खोप कार्यक्रम विगतका पाटा अनि भविश्यका बाटाहरु