पहिलो सरूवा; भोगाइ र भोजन
कुरा २०६४ साल ज्येष्ठ तीरको हो। उसवेला एस एल सी पास गरेको दशक समेत पुरा भएको थिएन। झट्ट कुनै निर्णय लिनु अघि गुरु उपदेश अनि आमाका ती उपदेशहरुको याद आइ हाल्थ्यो। पहिलो सरकारी सेवाको रुपमा जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङ्ग अन्तर्गत सिनाम स्वास्थ्य चौकीमा सेवारत थिएँ। उसवेलाको स्वास्थ्य पद्धति अनुसार जिल्ला स्वास्थ्य कार्यालय माताहत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरु तथा इलाका स्वास्थ्य चौकीहरु रहन्थे । प्रा स्वा केन्द्र तथा इलाका स्वास्थ्य चौकीहरुले सम्बन्धित इलाका/ क्षेत्र भित्रका जनस्वास्थ्य कार्यक्रमहरुको सामान्य व्यवस्थापन समन्वय तथा प्रतिवेदन सम्बन्धि कार्यहरु गर्नुपर्थ्यो ।
एस एल सी पश्चात अढाई वर्षे प्रविणता प्रमाण पत्र तह अध्ययन पश्चात करिव १० महिना घर वस्न पाएको थिएँ। तत्पश्चात एक वर्ष युएनएचसिआरको सहयोगमा भुटानीज शरणार्थी तथा प्रभावित क्षेत्रमा आम्दा नेपालद्वारा सञ्चालित स्वास्थ्य परियोजनामा एक वर्ष कार्य गरे पश्चात सिनाम स्वास्थ्य चौकीमा प्रमुखको रुपमा काम गरेको एक वर्ष व्यतित भएको थियो। एक वर्ष राम्ररी वितेको पत्तै भएन, तथापि अध्ययन कार्यलाई निरन्तरता दिने इच्छा जागेको हुँदा सरुवाका सम्भावना रअवसरहरु पहिल्याउँन थालेको थिएँ । वर्षातको समयमा घर झर्ने एक पटक इच्छा लागेको हुँदा केहि दिनको विदा लिइ घर झर्ने सोचको साथ जिल्ला स्वास्थ्य कार्यालय गएको थिएँ। घर झराई सँगै केहि व्यवहारिक अनि केहि शैक्षिक कार्यहरु समेत रहेका थिए।
स्वास्थ्य कार्यालयमा विदाको निवेदन दिएर तोक्मेडाँडा स्थित वस काउण्टर तीर आएँ, सवेरै हिँडे अवश्य पनि सवेरै पुगिन्छ भन्ने शास्त्रीय मान्यता अनुसार पहिलो वस शायद विहान ५ वजे छुट्थ्यो क्यार, त्यसको टिकट लिएर कार्यालय पुगेको मात्र थिएँ, भोली पल्ट बाट आयोजना हुने स्वास्थ्य शिविरको लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयका पदाधिकारीहरु आउँनु भएको रहेछ। जिल्लाको टिम सोहि शिविर व्यवस्थापनमा सम्लग्न हुनुपर्ने भएकाले केहि क्षणमा भेट भयो। तहाँ शिविर व्यवस्थापनका लागि आउँनुहुने प्रशासन शाखा प्रमुख सर प्रशासनिक कामको ताकेता आएकाले भोलि पल्ट नै फर्किने गरी टिकट काट्ने व्यवस्थापन भै रहेको रहेछ।
त्यो दिन यत्तिकै विसाएर भोलि पल्ट घर तर्फको यात्राको लागि वसपार्क आईयो। विहानै को यात्रा भएको हुँदा मुस्किलले कार्की दाजैको होटेल बाट पानी सम्म पिइ बाटो लागियो। तोक्मे डाँडामा एक कप चिया खाएर वस चढियो। प्राय नेपालमा वस समयमा हिँड्न मुु्स्किल नै हुन्छ। कसो कसो ५: १५ मा वसले हर्न लगाउँदै ओह्रालो लाग्ने सुरसार गर्यो। गाडीमा रोड सेफ्टी, कुन साइडको टिकट ठीक भनी ठम्याउँने आईडिया थिएन। ड्राइभरकै साइडको पाँच नम्वर सिटको टिकट थियो। झोला र्याकमा राखी सिटमा वसियो। झ्याल तर्फ म भन्दा केहि वढि अनुभवी भद्र भलाद्मि व्यक्ति आएर वस्नु भएको रहेछ।
वसले करीव आधा घण्टाको यात्रा पार गरी वाहनन्देबाट सेसम्वु तर्फको मोड लिइ रहेको थियो। तल पटि हेर्दा डरलाग्दो तमोर नदी, पारी पट्टि फुलवारी सोवुवाको डाँडो अनि माथिपट्टि अक्करको भीर। गाडीले आफ्नो गन्तव्य लिइ रहेको थियो, कावेलीको पुल आएको पत्त्तै भएन। करीव २ घण्टाको यात्रामा ताप्लेजुङ्ग जिल्ला कटि पाँचथर जिल्ला प्रवेश गरियो। कावेली तीर सिँहपुर उकालो चढ्दा शुरुमा फराकिला फाँट अनि केहि उकाला मोडहरु लिँदै वस सवार थियौँ। दुइ घुम्ती अगाडि वढेपछि वस चालकले वस रोक्नासाथ सहचालकले ल है पाँच मिनेट व्रेक त्यसपछि एकैचोटि गोपेटारमा खाना खाने ठाउँमा मात्र है भनी वायोलोजिकल व्रेकको प्रयोग गर्न सूचित गरे ।
करीव पाँच सात मिनेट पछि चालकले सिटमा वसेर गाडी वढाउँन खोज्दै थिए, गाडीमा मेकानिकल गडवड भयो क्यार, सहचालकले असिन पसिन हुँदै आधा घण्टाको सघन प्रयास पश्चात गाडी मरमत गर्न सफल भए पश्चात गाडिले गन्तव्य लियो। हामी भने खुइ खुइ भन्दै पेटको सुइरोले दिमाग सम्म चस्का हानेको अनुभव गर्दै गाडीमा नै रह्यौँ। करीव आधा घण्टामा सिँहपुर र त्यसको आधा घण्टामा भानु चोक / भालु चोक पुगियो। त्यहाँ यात्रुवाहक तथा मालवाहक सवारीहरुले खाना खाजा खाने केहि चलेका होटलहरुको जक्सन नै थियो। वस रोकेपछि खाना खान झर्नु त होला भनी छेउमा रहनु भएका यात्रुबाट अनुरोध भए अनुसार सँगै झरी खाना खाने निधो गरियो।
खाना आउँन समय लाग्दै थियो, यात्राका सहयात्री सँग एक आपसमा चिनाजान गरियो। संयोग भन्नुपर्छ, वहाँ त उहि प्रशासनिक कामको ताकेता आएकाले तत्कालै फर्किनु भएका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रशासन शाखा प्रमुख सर नै हुनु हुँदो रहेछ।
Comments
Post a Comment