समसामयिक यथार्थता


त्यसबेला एस‍.एल.सी. लाई फलामे ढोकाको नामले चिनिन्थ्यो। एस‍.एल.सी. दिए पश्चात केहि समय तनाव घटेको हुने, मस्तिष्कले समेत आरामको समयमा राहत महशुस गर्ने समय थियो । तथापी फलामे ढोका पार गरिने नगरिने भन्ने पीर भने आधा जति सहभागीहरुलाई हुन्थ्यो नै। मलाई भने राहत कम, आहत बढि भै रहेको थियो, सातामा केहि दिन पुरा निन्द्रा नपर्ने, भनेको बेलामा खाना खान नपाईने। त्यो  बिद्यालय शिक्षा पार गरेपछिको बिश्राम को समय, भविश्यको योजना बुन्दै मन खुशी राख्नु पर्ने समय थियो। समय व्यवस्थापन गर्ने खासै योजना थिएन, तथापि मन खुशी राख्न चाहँदा चाहँदै पनि सकिएको थिएन।
कुरा २०५८ सालको हो, मुलुकमा शसस्त्र राजनैतिक द्वन्द (जनयुध्द) ब्याप्त थियो। मुलभूत रुपमा राज्यले सुरक्षा दस्ता बाहेक सबैलाइ बिद्रोही पो हुन् कि भनि आशंका गर्ने, त्यसको बिपरीत बिद्रोही पक्षले आफु बाहेक सबैलाइ सामन्ति र राज्य पक्षीय देख्ने गर्दथ्यो। दैनिक दुइ, चार आक्रमण, २०- ४० हताहत नभएको दिन नहुने। मासिक २-३ हप्ता मुलुक बन्द हुने, साँच्चै भन्दा मुलुक बन्द बढी खुल्ला कम हुन्थ्यो। त्यसबेलाको समाज, राजनीति अनि अर्थतन्त्र जटिल बन्दै थियो। एवम् रीतले समय ब्यतीत हुदै गयो। राजनीतिमा ब्यापक हलचल हुँदै जाँदा २०६२ साालमा पुगेर तत्कालीन सात दल र तत्कालीन नेकपा माओबादी  बीच ऐतिहासिक बाह्र बुँदे सम्झौता भयो। नेपालमा शताब्दिमा भएका क्रान्तिहरु मध्ये सामाजिक परिवर्तन र राज्यशक्तिको प्रयोग सहित राजनीतिक परिवर्तनमा त्यो पाँच बर्ष (२०५८-२०६२‌\०६३) चरमोत्कर्ष हो भन्दा फरक नपर्ला । त्यस अघि राज्य र विद्रोही पक्षका रुपमा समाज बिभाजित हुन्थ्यो, समय क्रममा नागरिकलाइ सात , आठ, नौ हुँदै बिभीन्न समुहका रुपमा विभक्त हुदै गयो। 
समयक्रममा ऐतिहासिक, एक युगमा एक पटक हुने, आफ्नो भविश्य आफैँ कोर्ने अभूतपूर्ब संविधान सभाको चुनावको माहोल तयार भयो। मतदानमा तबमात्र  ठीक नेतृत्व छनौट हुन्छ, जब मताधिकार प्राप्त मतदाताले  आफ्नो मत स्वविवेक रुपमा प्रयोग गर्न सक्छन् । तथापि विश्वव्यापी रुपमा नै निश्पक्ष र स्वतन्त्र चुनावका अवरोधहरु रहन्छन् नै। अझ नेपाल लगायत बिकासशिल देशहरुमा  त अवरोधहरुका वहुरुप नै रहन्छन्, नेपालमा पनि रहि रहे रहे, अझ भनौँ, बढ्दै गए। चुनाब हुने नहुने, सहज रुपमा प्रचार प्रसार गर्न पाइने नपाइने, मतदान गर्न पाइने नपाइने, मतगणना, घोषणा, बिजयी नेताले बैधानिक तवरले संसद- बैधानिक सभाको प्रवेश गर्न पाइने नपाइने सम्मको अन्योलता ब्याप्त थियो। मुख्य दलका नेताले नै थरि थरिका अभिब्यक्ति दिने क्रम रहि रह्यो। 
तथापि, अन्योलता बिच पनि चुनाव भयो; बैधानिक सभा बन्यो। जसमा नेपाल भित्रकै बिभिन्न बर्गको प्रतिनीधित्व त भयो तर आन्तरिक परिवेश र आवश्यकता बिश्लेषण गरि भावी कार्यदिशा तय गर्न सक्ने सक्षमता र खुबी प्रतिनिधीहरुमा देखिएन। बैधानिक सभा भित्रै ढुंगा, खुर्सानीको धुलो, गोला, बारुद सबैथोक भित्रिए। कुर्सी फोरिए, भवन भत्कियो, हुँदा हुँदै ब्रिफकेश फुट्ने घट्ना सम्म दुरदर्शनको पर्दामा देख्दा म एक मतदाताको मन कुँडियो। अन्तत: पटक पटक असफल हुँदै, आफ्नो आयु आफैँ थप्दै समय ब्यतीत गर्दै अँध्यारो सुरुंग भित्र पुगेर अनायसै सभा बिसर्जन भयो।
पुन: दोश्रो सभा गठनको तानाबाना बुन्दै निर्दलीय सरकारको ब्यवस्था गरियो। निश्चित समयमा चुनाव सम्पन्न भै सभाका सदस्यहरु छनौट गरियो। सहमतीको नाममा जनताको मत, प्रतिक्रिया र सुझावलाइ पातालगंगा र आकाशपुंजतीर फालियो। नेपाललोकमा सामान्यतया विधि तोड्ने क्रम बढ्दै गयो, बिभीन्न आरोह अवरोहबीच मूल कानूनको मस्यौदा तयार भयो।
बिभीन्न रुपका ज्वालाहरु मुलूकभरी नै दन्किए, नाराहरु घन्किए, सपुतहरु जन्मिए, यदाकदा मुलूकको चीरहरणको लागि देशी बिदेशीको सक्रियता बढ्दै गए, सड्यन्त्रका तानाबुना बुनिए। अन्तत: सुझबुझ, कमीकमजोरी, ढिला सुस्तीका र बाध्यताकाबीच मूल कानून जारी भै प्रमाणीकरण र लागु गरियो। विभीन्न तहका ७६१ सरकार, संसद र न्यायालय बनिए। सिँहदरबार ग्राम ग्राममा पुर्याइयो र प्रदेशका राजधानीहरु प्रदेश प्रदेशमा तोकियो। 
दुइ बर्ष भित्रमा हुनुपर्ने कामहरु थाती रहि रहे, आफ्नै नाम र मुकाम तोक्न तीन बर्ष भित्रमा पनि नसकेको हामीले हेरी रह्यौँ। यसबीचमा शरद, बर्षा,हेमन्त र बशन्त ऋतुहरु पार हुँदै गए, त्यस सँगै सुक्खा, बाढी, पहिरो ब्यहोर्दै गइयो। बिभीन्न काल खण्ड १९९० र २०४५ मा भूकम्पबाट क्षती पुगेकै थियो, यसै बीचमा थप शक्तिशाली गोर्खा भूकम्प २०७२ (Nepal Earthquake 2015) आयो, त्यसलाई पन्छाइ अघि बढ्दै जाँदा छिमेकीबाट नाकाबन्दी खेपियो। केही समय नियमित हिडाई हिँड्न थाल्दा थाल्दै कोरोना भन्ने जैविक शक्तिले हिमाल पार बाट ढोका खोल्यो, संसार भर फेलँदै दक्षिणसम्म आई पुरै ढाक्यो। यतिन्जेल पनि हामीले पर्याप्त सावधानी र तयारी चुक्यौँ, जागरुक र चलायमान भएनौँ।
भूकम्प, राजनैतिक द्वन्द, वैदेशिक असहयोग, आन्तरिक बेथीति सबैका बीच आएको शक्तिशाली जैविक कोरोनाले थप प्रभाव पारी रह्यो। हामी सचेत नेपालीहरु, बिभीन्न सेवाकर्मीहरु, राजनैतिक कार्यकर्ताहरु, शिक्षकहरु, युवा, महिला, सामाजिक शक्तिहरु यथोचित परिचालित भएनौ, भोजमा, मोजमा मस्त भै सुती रह्याैँ, समाजमा नभइ बिद्युतीय सन्जालहरुमा ब्यस्त रह्याैँ। कोरोनाको ग्राफ बढ्दै गयो, अवस्था विकराल भै गम्भीर भयो, हामी भने गम्भीर भएनौँ। मुख र नाक ढाक्ने गरी मास्क लगाएनौं, भौतिक दूरी कायम राखेनौँ, सरसफाई तीर ध्यान दिएनौ, आफूलाई लाग्दो काम गर्दै गयौँ। कोरोनाको नाममा आए्स सामाजिक लान्छना, भेदभाव र विभेद सम्मको असामाजिक र अमानवीय व्यवहार अपनायौँ। दलित, महिला माथीको भेदभाव, विभेद र हिँसा  सदियौँ देखी ब्याप्त छँदै थियो। केहि दशक अघि द्वन्द पक्ष र राज्य पक्ष भए झैँ आज हामी कोरोना भएको र नभएकोमा बिभाजित हुन खोज्दैछाैँ, मानिस भएर पनि मानव हुन सकिरहेका छैनौँ। शिक्षा लियौँ तर संस्कार सिकेनौँ, संसार हेर्यौँ तर असल अभ्यास देखेनौँ, आफुले  त गरेनौ तर अरुले गरेको कामको सम्मान पनि गरेनौ, त्यसैले त हामी जहाँको त्यहीँ छौँ।

धन्यवाद!!!!!

Comments

Popular posts from this blog

राष्ट्रिय खोप कार्यक्रम विगतका पाटा अनि भविश्यका बाटाहरु

कसको शिक्षा कस्तो शिक्षा